सफलताको साँचो हो बानी र ब्यबहार । तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरा तपाईँको व्यवहारले देखाउँदछ । तपाईँको बानीले तपाईँको स्वभाव झल्काउँदछ । बानी सफलताको साँचो मात्र होइन असफलताको आधार पनि हो तसर्थ केही यस्ता बानीहरु छन् जुन हामीले त्याग्नु पर्छ तब मात्र सफलता हात लाग्छ । यदि तपाईको पनि यस्तो बानी छ भने त्यागी हाल्नुहोस ।
१. बिना योजना काम गर्ने
बिना योजना कहिल्यै काम गर्नु हुदैन । कुनै पनि काम गर्नुभन्दा अगाडि त्यसको योजना बनाउनुहोस् । तपाईँले आउने दिनहरूमा के-के गर्ने, कसरी गर्ने अनि समयअनुसार गर्नुपर्ने कामको चरण अनि मूख्य उदेश्यको सूची बनाउनुहोस्। एकैचोटी जटिल योजना नबनाउनुहोस्। आफूले गर्न सक्ने र नसक्ने कामको पनि सूची बनाउनुहोस् ।
२. प्रयास गर्न डराउने
बोलेर समय खेर फाल्नुभन्दा केहि गरेर समयको सदुपयोग गर्नु उचित हुन्छ । कहिँ पुग्नको लागि पहिलो पाइला तपाईँले नै चाल्नुपर्ने हुन्छ। त्यसैले पहिलो पाइला चाल्न नडराउनुहोस्। डरलाई जित्ने प्रयत्न गर्नुहोस्।
गल्ती भयो भनेर पनि कतिपय मानिसहरू दुःखी हुने गर्छन्, उनीहरूले यो सोँच्दैनन् कि गल्तीबाट पनि पाठ सिक्न सकिन्छ। मानिसको जीवन लामो छ, गर्नुपर्ने थुप्रै कामहरू छन्, एउटा सानो गल्तीबाट हैरान हुँदा तपाईँको अमूल्य समयको त नाश हुन्छ हुन्छ, सँगसँगै अगाडि बढ्ने हिम्मत पनि कमजोर हुँदै जान्छ ।
३. हरेस खाइ हाल्ने
“चरेस खानुहोस्, तर हरेस नखानुहोस्” भन्ने नेपाली उखानले धेरै महत्व बोकेको छ। यसको मतलब चरेस खानुहोस् भन्न खोजेको होइन, बरु हरेस चाहिँ नखानुहोस् भन्न खोजेको हो। हार मान्नु नै सबैभन्दा ठूलो हार हुन जान्छ। आफ्नो उदेश्य पाउनको लागि तपाईँ कत्तिको दृढ हुनुहुन्छ ? सानो-सानो कुरामा पनि शङ्का गर्नुहुन्छ ? यो असाध्यै नराम्रो बानी हो। आफ्नो दोधारेपन र आशङ्का गर्ने बानीबाट छुट्कारा पाउने कोशिस गर्नुहोस् । हरेश कदापी नखानुहोस् ।
४. आत्मविश्वासको कमी
तपाईँ आफैले गरिरहेको काममा विश्वास गर्नुभएन भने, तपाईँले पक्कै पनि हार खानुहुन्छ। आफ्नो उदेश्यमा पुग्छु भन्ने कुरामा नै विश्वास गर्न सक्नुहुन्न भने, तपाईँको मेहिनेत त्यत्तिकै खेर जानेछ, ठ्याक्कै बालुवामा पानी खन्याएजस्तै हुनेछ। के यो सही हो ? दिमागले पनि बेलाबेला अचम्मको खेल खेल्छ, तर त्यो दिमाग तपाईँको हो, आफ्नो दिमागलाई आफ्नो अधीनमा राख्ने कोशिस गर्नुहोस्। आफूले गर्न लागेको कामबाट सफल नहुञ्जेलसम्म दिमागलाई अन्त नमोड्नुहोस्, विश्वास गर्नुहोस्, सफल अवस्य भइन्छ ।
५. बहाना बाजी गर्ने
बहानाबाजी कहिल्यै गर्नु हुदैन । कुनै काम गर्न सक्नुहुन्न भने पनि एकचोटि प्रयास त गर्नुहोस्, प्रयास नै नगरी कसरी थाहा हुन्छ कि गर्न सकिन्छ कि सकिँदैन भनेर ? बहाना बनाउन थाल्नुभयो भने, तपाईँको सुवर्ण मौका गुम्दछ, अरूले तपाईँलाई नालायक ठान्दछ, अनि पछि आफूले आफैलाई धिक्कार्नु हुनेछ। बहानाले तपाईँको इच्छाशक्ति र आत्मबललाई कमजोर बनाउँदै लैजान्छ।
मानिसहरू अज्ञात नतिजाबाट बच्नको लागि बहाना बनाउने गर्छन्। परिवर्तनको डरले, अस्वीकारको डरले अनि लाजले गर्दा विभिन्न किसिमका बहाना बनाउने गर्छन्। डरले तपाईँलाई जहाँ हुनुहुन्छ, त्यहीँ मात्रै सीमित बनाएर राख्दछ, कुनै नौलो अनि नयाँ अनुभवबाट बञ्चित बनाउँदछ। त्यसकारण कुनै पनि बहानाबाजी गर्ने नगर्नुहोस् ।
Post a Comment