अष्ट्रेलियामा छिटो पैसा कमाउने दाउमा नेपालमा अवैध आर्थिक कारोबार (हुण्डि) गर्ने एक नेपालीको अष्ट्रेलियाको पीआर नै क्यान्सिल भएको छ। २००८ मा अष्ट्रेलिया आएका केसी थरका उनी मार्च २०२२ मा हुण्डिको नाममा ठगी गरेर आर्थिक आर्जन गरेको अभियोगमा दोषी ठहर भएका थिए। अष्ट्रेलियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले उनलाई ४६ महिना अर्थात् तीन वर्ष १० महिनाको कैद सजायँ तोकेको थियो।
१२ अप्रिल २०२२ मा उनको पीआर भिजा (१८९) खारेज भएको थियो। अष्ट्रेलियामा माईग्रेसन ऐन १९५८ ले खरतनाक आपराधिक गतिविधीमा संलग्न हुनेको भिजा खारेज (क्यान्सिल) गर्नै पर्ने व्यवस्था गरेको छ। अदालतको फैसला अनुसार जेल सजायँ काटिरहेका केसीले आफ्नो भिजा खारेजीको निर्णय फिर्ताका लागी समेत अपिल गरेका थिए।
केसीले अष्ट्रेलियामा सामान आयात निर्यातको व्यवसाय गर्दै आएका थिए। सन् २०१४ देखी उनले रेमिटान्स सेवा सुरू गरेका उनले आफूसँग भएका सम्पर्कको प्रयोग गरेर मानिसहरूसँग उनीहरूको नेपालमा रहेका परिवारलाई पैसा दिने भन्दै अष्ट्रेलियामा पैसा उठाउन सुरू गरेका थिए, नेपाली समुदायमा यो हुण्डीको नामले चिनिन्छ। उनको हुण्डी प्रयोग गरेर नेपाल पैसा पठाउन भनेर पैसा दिनेहरूको पैसा नेपालमा नदिने गर्न थालेपछी अत्तालिएका व्यक्तिहरूले पैसा फिर्ता माग्दा 'दिन्न जे गर्न सक्छस् गर्' भन्ने खालको भन्न थालेपछी पिडीतहरू प्रहरीकोमा पुगेका थिए।
केसीले पैसा दिनुपर्ने मानिसहरूलाई 'जे गर्न सक्छस् गर, मलाई मतलब छैन, म पर्मानेन्ट रेसिडेण्ट हो तिनिहरूले केही गर्न सक्दैन' भन्ने गरेका थिए। उनले नेपाल पैसा पठाईदिन्छु भनेर पैसा लिएका कतिपयलाई 'मलाई अदालत लगेर केही हुँदैन किनभने मैले सानो व्यवसाय गर्थें अब मेरो व्यवसाय टाट पल्टियो' भनेर आफूले लिएको पैसा नदिने बताउँन थालेका थिए। उनले प्रहरीमा गए वा कतै उजुर गरेमा पैसाको आश मारे हुने भन्दै उल्टै आफूले पैसा लिएका मानिसहरुलाई धम्क्याउँथे। उनले हुण्डी मार्फत राम्रो रेटमा नेपाल पैसा पठाईदिने भनेर दुईलाख २० हजार भन्दा धेरै पैसा उठाएका थिए। उनले ठगेका मध्ये धेरै विद्यार्थी तथा टेम्पोररी भिजामा भएका थिए।
धेरै जना उनको हुण्डी काण्डबाट ठगिएपछी नेपाली समुदायका अगुवाहरूले उनीसँग कुराकानी गरेर पैसा फिर्ता गराउने पहल गरेपनि उनले धेरैलाई पैसा फिर्ता दिने नाममा झुलाए तर फिर्ता दिएनन्। ईमिग्रेसनले उनको भिजा क्यान्सिल गरेपछी त्यसको रिभ्यूका लागी एआरटीमा अपिल गरेका उनको अपिल माथि धेरै कोणबाट विश्लेषण गरेर एआरटीले उनको भिजा क्यान्सिलको निर्णयलाई सदर गरेको छ।
जेल सजायँ पछी हुण्डीको नाममा ठगी गर्ने केसी नेपाल डिपोर्ट हुनेछन्। उनीसँग अझै माथिल्लो अदालतमा जाने विकल्प भने छ।
Post a Comment